स्थिर सरकार भयो भने विकासले लय पक्रन्छ : अर्थमन्त्री डा महत

बारा-अर्थमन्त्री डा प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताएका छन् । आइतबार बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘स्थिर सरकार भयो भने यो देशमा गर्न सकिने धेरै कुराहरू छन् । तर दुईवटा भाष्यसँग हामी चनाखो हुनुपर्छ । ०४६ सालअघि यहाँ स्वर्णयुग थियो अहिले खत्तम भयो भन्ने भाष्य सामाजिक सञ्जालमा फैलाइएको छ भने अर्को नकरात्मक सन्देश फैलाइएको छ । यसलाई चिर्नुपर्छ ।’
हाम्रो अर्थतन्त्रमा पहिलेदेखि थुप्रिदै आएको समस्याहरू उनले बताए । मन्त्री डा महतले भने, ‘सहज अवस्थामा कर्जा प्रवाह भयो, प्रतिफल प्राप्त नहुँदा आएका समस्याहरू र पछिल्लो समय ब्याजदर वृद्धि हुँदा उत्पन्न समस्याहरू, नयाँ ऋणी हिचकिच्चाएको समस्या, ब्याजदर अझै उच्च रहेको समस्या, शेयर बजार सहज हुन नसकेका समस्याहरू, घरजग्गा कारोबार शिथिल भएर उत्पन्न भएका समस्याले गर्दा आर्थिक कारोबार कम भएको छ । तर अब अर्थतन्त्र विस्तारै लयमा फिर्किँदैछ ।’
पर्यटक आउन थालेको भन्दै उनले विदेशी विप्रेषणको प्रवाह पनि राम्रो भएको र अब जग्गा कारोबार विस्तारै बढ्ने बताए । उनले भने, ‘बैंकिङ समस्या विस्तारै हट्छन् । राष्ट्र बैंकले कतिपय काम गर्न बाँकी छ । राष्ट्र बैंकबाट सम्बोधन भएपछि शेयर कारोबार बढ्छ ।’
प्रतिक्रिया