भिजेको चामल फिर्ता

भिजेको चामल फिर्ता

हुम्ला- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वितरण गरेको बिग्रेको खाद्यान्न (चामल) फिर्ता लिएको छ । कम्पनीले सो खाद्यान्न फिर्ता लिएर नयाँ चामल उपलब्ध गराएको छ । 

नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले अनुदानमा वितरण गरिएको चामल अनुगमनका क्रममा पानीमा भिजेको अवस्थामा फेला परेको बताउनुभयो । खाद्यको सिमकोट शाखाका कर्मचारीका साथै उहाँको टोली खाद्यान्नको अवस्था बुझ्न हिल्सासम्म पुगेको थियो । उहाँले स्थानीयको घर घरमा पुगेर बिग्रेको खाद्यान्नबारे जानकारी लिएको बताउनुभयो ।

उहाँका अनुसार मुचुमा ६६४ बोरा खाद्यान्न बिक्री भएकोमा ३२ बोरा पानीमा भिजेर बिग्रेको भेटिएको जानकारी दिनुभयो । केही चामल हिल्सामै पानी पर्दा भिजेको र बाँकी टिप्परमा मुचु लाने क्रममा खोलामा झर्दा भिजेको बताइएको छ । 

लिमी ढुवानी गरिएको १७० क्विन्टलमध्ये दुई बोरा भिजेको भेटिएको छ भने शाखाको सिमकोट गोदाममा पुगेको खाद्यान्नमध्ये १४ बोरा बिग्रेको भेटिएकाले त्यसलाई अलग्गै राखिएको जनाइएको छ ।