वन फडानी गर्ने वडा अध्यक्षसहित चार जना धरौटीमा रिहा

वन फडानी गर्ने वडा अध्यक्षसहित चार जना धरौटीमा रिहा

रुकुम पश्चिम- सामुदायिक वन क्षेत्रका रुख अवैध रूपमा फडानी गरेको आरोपमा पक्राउ परेका रुकुम पश्चिमको चौरजहारी नगरपालिका –११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जना धरौटीमा छुटेका छन् ।

आइतबार रुकुम जिल्ला अदालतले वडाध्यक्ष ओलीसहित सोही वडाका ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाहलाई एक÷एक लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार अदालतको आदेश अनुसार आइतबार नै चार जना हिरासतमुक्त भएका छन् । चार जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । 

जिल्लाको चौरजहारी नगरपालिका –११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फडानी गरेको आरोपमा असोज ९ गते वडाध्यक्ष ओलीलाई, असोज ८ गते नेपाली र केसीलाई र भदौ २९ गते शाहलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको थियो ।

मनोमानी ढङ्गले सामुदायिक वन क्षेत्रका रूख फडानी गरेको भन्दै चार जना विरुद्ध सामुदायिक वन उपभोक्ता समूहले उजुरी दर्ता गराएको थियो ।