बंगलादेशलाई हराएसँगै महिला कबड्डीमा नेपालको पदक सम्भवना

बंगलादेशलाई हराएसँगै महिला कबड्डीमा नेपालको पदक सम्भवना

हाङझाउ- १९औं एसियाली खेलकुद (एसियाड) को १०औं दिन नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बढाएको छ ।

महिला कबड्डीमा को समूह ‘बी’ मा सोमबार नेपालले बंगलादेशलाई ३७-२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो । पहिलो हाफमा २१-१६ को अग्रता लिएको नेपालले दोस्रो हाफमा १६-८ को जित निकालेको थियो । 

जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बंगलादेश एकै समूहमा छन् । 

नेपालले समूहको अर्को खेल मंगलबार इरानसँग खेल्नेछ । यस्तै समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्ड रहेका छन् । 

लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो रहेकोले बंगलादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ । कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । 

अन्तिम चारमा पराजित हुने दुवै टोलीले कांस्य पाउने ब्यवस्था रहेको छ । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेल तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहिन बनेपछि नेपालले अब महिला कबड्डीमा कम्तीमा कांस्य पदक जित्ने छनक देखाएको छ ।   

मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले हाङझाउ आउनुअघि भारतमा एक महिना बैदेशिक प्रशिक्षण गरेको थियो । नेपालले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशलाई ३६-२५ ले हराएको थियो । नेपाली महिला टोलीले सागको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो । 

नेपाली महिला कबड्डी टोली 

मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गंगा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ र मनमती विष्ट ।