स्वास्थ्य चौकी भवन हस्तान्तरण

स्वास्थ्य चौकी भवन हस्तान्तरण

दोलखा- भूकम्पले क्षति पुगेको दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटीमा निर्माण भएको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।  भारत सरकारको एक करोड ७३  लाख रुपियाँ लगानीमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष एवं व्यवस्थापन समिति अध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । डेढतले भवनमा तल्लो तलामा १० र माथिल्लो तलामा पाँच गरी १५ कोठा रहेका छन् । 

भारत सरकारको लगानीमा १८ वटा भवन निर्माणाधीन रहेका सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका सबइन्जिनियर रामशरण न्यौपानेले जानकारी दिनुभयो । नेपाल सरकारको लगानीमा १३ वटा निर्माण सम्पन्न भएका छन् ।  

दुई वर्षको अवधिमा नेपाल सरकारको एक करोड ५५ लाख ६० रुपियाँ लगानीमा मालु स्वास्थ्य चौकी भवन र नौ करोड ३९ लाख ४६ हजार रुपियाँ लगानीमा हावा, च्यामा, फस्कु, सुस्पा, चङ्खु र खारेमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेका छन् । मकै बारी र शैलुङमा एकै प्याकेजमा तीन करोड ३९ लाखमा, पवटीमा एक करोड ७६ लाख र ओराङमा एक करोड ७६ लाख रुपियाँ र गौरीशङ्करमा दुई करोड ६८ लाख ३६ हजार रुपियाँ लगानीमा यी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेका इन्जिनियर न्यौपानेले बताउनुभयो । 

भारतको १७ करोड तीन लाख २८ हजार रुपियाँ लगानीमा पहिलो चरणमा सात प्याकेज अन्तर्गत झुले, ठुलोपाताल, श्यामा, घ्याङ्सुकाठोकर, दुधपोखरी, भुसाफेदा र मागापौवा स्वास्थ्यचौकी भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

दोस्रो चरण अन्तर्गत १० प्योकजमा २४ करोड ४९ लाख ६७ हजार रुपियाँ लगानीमा बोच, लाँकुरीडाँडा, लामीडाँडा, लापीलाङ स्वास्थ्य चौकी र आयुर्वेद, झ्याकु, चिलङ्खा, बिगु, मार्बु र भेडपु आयुर्वेद भवन र निर्माणाधीन अवस्थामा रहेका पनि उहाँले जानकारी दिनुभयो ।

सदरमुकाम चरीकोटस्थितको प्राथमिक स्वास्थ्य केन्द्रको पाँच करोड ४३ लाख रुपियाँमा आइसियु, इमर्जेन्सी र शल्यव्रिmया थेटर पनि निर्माणाधीन अवस्थामा रहेको छ । यी भवनहरू २०८० साल माघ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।