चामलमा अनुदानले बिक्री बढ्यो

चामलमा अनुदानले बिक्री बढ्यो

कालीकोट- दसैँतिहार र छठसम्म सरकारले सरकारी स्वामित्वको निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने चामलमा छुट दिएपछि बिक्री बढेको छ । सरकारी अनुदानले प्रतिकिलो चामलमा सात रुपियाँ घटेपछि उपभोक्ता चामल लिन लाइन लाग्न थालेका छन् । 

असोज २१ गतेबाट अनुदानमा वितरण हुन थालेको जिरा मसिनो चामल चार दिनमा दुई सय क्विन्टल बेचिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म शाखाका वितरक कर्णप्रसाद आचार्यले चार दिनमा दुई सय क्विन्टल चामल वितरण भएको बताउनुभयो । प्रतिकिलो सात रुपियाँ घट्दा २५ किलो चामलको बोरामा साबिकको मूल्यभन्दा १७५ रुपियाँ कम हुँदा उपभोक्ता खुसी पनि भएका छन् । 

शुभकालिका गाउँपालिका–४ बाट चामल लिन आएकी विष्णा सुनारले अन्य समयमा दुई हजार तीन सय पर्ने चामल हिजोआज दुई हजार १२५ पर्दा धेरै राहत भएको बताउनुभयो । यही प्रकृतिको चामल बजारमा किन्दा दुई हजार ५५० तिर्नु पर्छ । बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य ४२५ रुपियाँ कम पर्दा उपभोक्ताले बजारका व्यापारीबाट चामल लिन छोडेका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मका कार्यालय प्रमुख कमलप्रसाद पाण्डेले आफ्नो कार्यालयले छठसम्म एक हजार क्विन्टल चामल अनुदानमा वितरण गर्ने अधिकार पाएको बताउनुभयो । सस्तोमा चामल वितरण भइरहेको छ भन्ने खबरपछि व्यापारी पनि लाइनमा आउने गरेको भन्दै सकेसम्म व्यापारीले चामल लिन नपाऊन् भनेर चिनजानका केही स्वयम्सेवक र कर्मचारीलाई खटाएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । 

दसैँसम्म पाँच सय क्विन्टल चामल खपत हुने अनुमान कार्यालयले गरेको छ । सरकारले अनुदानमा चामल दिएको कुरा गाउँका उपभोक्ताभन्दा टाठाबाठाले पहिला थाहा पाउने भएकाले यसपालि वितरणमा विशेष ध्यान दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले दाबी गरेको छ ।