नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं- नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन्।

कलेजको बोर्ड अफ डाइरेक्टरहरूको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्राडा. अन्सारीलाई नियुक्त गरिएको हो।

वीरगञ्जको नेसनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्।

नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे।

नवनियुक्त प्रबन्ध निर्देशक प्राडा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाइँमा लैजाने बताउँदै त्यसका लागि सबैले आ-आफ्नो पदीय दायित्वअनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए।

कलेजमा रहेका समस्या र चुनौतीहरूलाई सामूहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफू २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे।

कलेजका अध्यक्ष डा.भोला रिजालले कुशल शल्यचिकित्सकसमेत रहेका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै वीरगञ्जमा सफल रूपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा विश्वास गरे।