कर्णालीमा चिया र कफि खेतीको सम्भावना बारे खोजि

कर्णालीमा चिया र कफि खेतीको सम्भावना बारे खोजि

सुर्खेत - कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा छलफल गरेको हो। 

अन्तरक्रियामा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताए। प्रदेशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना नगरिएको गुनासो उनले गरे। ‘आर्थिक हिसाबले चिया र कफी खेती व्यावसायिकरूपमा हुन जरुरी छ’, उनले भने। मन्त्री शर्माले खेती प्रवर्धनका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउन विकास बोर्डसँग अनुरोध गरे।  

कर्णाली प्रदेशसभा सदस्यद्वय विन्दमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भइरहँदा कर्णालीमा त्यसो नगरिएको बताए। बराहताल गाउँपालिका–३, सुर्खेतका कफी कृषक मोहनकुमार आचार्यले प्राविधिक ज्ञान नहुँदा लगाएको कफी मास्नु परेको गुनासो गरे।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको सम्भावना रहेको बताए। उनले भने, ‘यसको खेतीमा जोड दिन सबै स्थानीय तहको अग्रसरता, प्रदेश तथा संघीय सरकारको समन्वय एवं सहयोग आवश्यक छ।’

छलफलमा चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका प्रमुख सीपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेको बताए।