यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै

यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौं – यू–१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनल पुगिसकेको छ।

समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा जिम्बाबेमाथि २२५ रनको विशाल अन्तरले जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको अस्ट्रेलिया समूह विजेता बन्दै सुपर सिक्समा पुगेको हो।

सुपर सिक्सको पहिलो खेलमा इंग्ल्याण्डलाई डिएल पद्धतिमा ११० रनले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो। समूह विजेता बन्दै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो।

समूह ‘डी’मा रहेको पाकिस्तान विश्वकपका पाँच खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि ५ विकेटको जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि १० विकेटको जित निकाल्दै सुपर सिक्सको सुखद् यात्रा तय गरेको थियो।

सुपर सिक्सको पहिलो खेलमा आयरल्याण्डलाई ३ विकेटले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि ५ रनको जित निकालेको थियो। समूह चरणका तीन र सुपर सिक्सका दुई खेलमा जित निकालेको पाकिस्तानले आठ अंक जोडे पनि रनरेटका आधारमा समूह उपविजेता बन्यो।