साग बिक्रीबाट तीन लाख आम्दानी
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँ बढी आम्दानी गरेका छन् ।
सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताए । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनको भनाइ छ ।
महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन् । माघमा मात्र पहिलो लट काटिएको सागबाट ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताए ।
मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिए ।
गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् ।
पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताए ।
पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।
प्रतिक्रिया