कर्णालीका महिलानै गर्न दिँदैनन् पुरुषलाई स्थायी बन्ध्याकरण

कर्णालीका महिलानै गर्न दिँदैनन् पुरुषलाई स्थायी बन्ध्याकरण

कर्णाली - डोल्पाकी एक ३५ वर्षीया महिला उनी तीन सन्तानकी आमा हुन् । सन्तानको रहर पुगिसक्यो अब उनी सन्तान जन्माउन चाहदिनन् । स्थायी बन्ध्याकरण पनि घरपरिवारले गर्न दिँदैनन् । श्रीमानले अस्थाई साधन प्रयोग गर्न मान्दैनन् र उनले नै विभिन्न थरीका अस्थाई साधन प्रयोग गर्छिन् । फरक फरक अस्थायी साधन प्रयोग गर्दा शारीरिक रुपमा कमजोर महसूस हुन्छ तर के गर्नु श्रीमानले अस्थाई साधन प्रयोग गर्न मान्दैनन् उनले भनिन् ।

स्थायी बन्ध्याकरण गरौँ भने भोलि के हुन्छ कसले देखेको छ र ? कसैगरी बच्चालाई केही भइहाल्यो भने अर्को सन्तान कसरी जन्माउनु त्यसैले पीडा सहेरै भएपनि आफैँले अस्थाई साधनको प्रयोग गरिरहेको उनले स्पष्ट गरिन । डोल्पाका धेरै महिलाको मनोविज्ञान यही हो ।

स्थायी बन्ध्याकरण अहिले धेरैले गर्दैनन् । बरु कपरटी, डिपो, इम्प्लाण्ट, ओसीपी लगायतका साधन महिलाहरूले प्रयोग गर्ने गरेका छन् । ‘परिवार नियोजनका साधन प्रयोगमा पुरुषको संख्या शून्य छ’ जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत अखण्ड उपाध्यायले भने ।

उनका अनुसार महिलाहरू आफैले पुरुषलाई बन्ध्याकरण गर्न दिँदैनन् । स्थायी बन्ध्याकरण गरेपछि पुरुष कमजोर हुन्छन् । पहाडको ठाउँ उकाली ओरालीसंँगै परिवार पाल्ने जिम्मा श्रीमानकै हुन्छ । हिँडडुल गर्न र काम गर्न सक्दैनन् भन्ने गलत बुझाईका कारण महिलाहरू आफैँ अघि सर्छन् ।

पुरुषले पनि महिलालाई स्थायी बन्ध्याकरण भन्दा अस्थाई साधन प्रयोगमै जोड दिन्छन् उनले भने । तर बन्ध्याकरण गरेको केही दिन अलि गाह्रो भएपनि यसकै कारण कमजोर भने नहुने अधिकृत उपध्याय बताउँछन् । उनका अनुसार  ग्रामीण भेगमा यो कुरा बुझाउन समस्या छ । महिलाले प्रयोग गर्ने साधन कसलाई कुन साधन प्रयोग गर्दा राम्रो हुन्छ भन्ने नबुझेर धेरै महिलामा महिनावारी समयमा नहुने, महिनावारीका समयमा धेरै रगत बग्ने जस्ता समस्या देखिने गरेको उनले बताए ।

के हो परिवार नियोजन ?
गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो । परिवार नियोजनका साधनको प्रयोगले सन्तानको संख्या कम हुने मात्र हुदैन । थोरै र जन्मान्तरले आमा र बच्चा स्वास्थ्य राम्रो हुन्छ । बच्चालाई राम्रो स्याहार गर्न सकिने, पोषणयुक्त खाना अनि स्वास्थ्य वातावरणले बिमारी कम हुने तथा स्वास्थ्यमा हुने खर्चमा कमी आउने  हुन्छ ।

त्यस्ता बच्चालाई राम्रो शिक्षादीक्षा दिन सकिने र त्यसैले राम्रो रोजगार पाउने जस्ता सन्दर्भले आर्थिक, समाजिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रको प्रगति र सन्तुलनमा परिवार नियोजनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  मद्दत गरेको मेडिकल अधिकृत उपाध्याय बताउँछन् । राष्ट्रलाई पनि कम जनसंख्या भएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार जस्ता अत्ति आवश्यक सुविधाको कुशल व्यवस्थापन गर्न सजिलो हुन्छ भन्नेमा दुईमत छैन । त्यसैले राज्यले पनि यसलाई उच्च महत्व दिएको छ र सरकारी स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका सबै सेवाहरू निःशुल्क गरेको छ ।

नियोजनका साधन र प्रयोग
परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी २ किसिमका हुन्छन् । स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ, जसलाई बन्ध्याकरण भनिन्छ । यसले स्वास्थ्यमा कुनै असर गर्दैन तर महिलामा भने ढाड दुख्ने हुन्छ भन्ने बुझाइ छ ।  यो शल्यक्रियाको कारण ढाड दुखेको भने होइन । कुनै कुनै समयमा ट्यूब राम्रोसँग टाइट भएन भने गर्भ रहन सक्छ । कहिलेकाहीँ ट्यूव पाठेघरमा नबसी नलीमा बस्नसक्छ त्यस अवस्थामा महिलामा रक्तस्राव भएर जटिल अवस्था आउने र शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

स्थायी बन्ध्याकरणले पुरुषमा यौन इच्छा कम भएर जान्छ भन्ने गरिन्छ तर यस्तो भने हुँदैन । पुरुषमा आफ्नै कारणले गर्दा यौनइच्छा कम हुने हो । स्थायी बन्ध्याकरण गर्दा पुरुषमा असफल हुने दर भने बढी हुन्छ । फलस्वरुप, महिलाले गर्भधारण गर्न पुग्छन् ।परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन् । कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ ।

स्थायी बन्ध्याकरणले पुरुषमा यौन इच्छा कम भएर जान्छ भन्ने गरिन्छ तर यस्तो भने हुँदैन । पुरुषमा आफ्नै कारणले गर्दा यौनइच्छा कम हुने हो । स्थायी बन्ध्याकरण गर्दा पुरुषमा असफल हुने दर भने बढी हुन्छ । फलस्वरुप, महिलाले गर्भधारण गर्न पुग्छन् ।परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन् । कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ ।

परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर पनि कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने सम्भावना १८ प्रतिशतसम्म हुन्छ । यदि महिलाले नियमित रुपमा पिल्स खाएमा फेलिएर हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठीक समयमा नै खानुपर्छ ।

राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । पिल्सले पाठेघरमा हुने क्यान्सरबाट समेत बचाउँछ । तर पिल्स धेरै खाएमा स्तन क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । विशेष गरी पिल्स ४० वर्षपछि नखानु नै राम्रो हुन्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन । पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हुँदै जान्छ ।

डिपोप्रोभेरा तीन/तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुनसुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने सम्भावना हुन्छ ।

धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउँदैन । महिलाले इन्जेक्सन लगाउँदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिनापछि मात्र गर्भधारण गर्न सक्छन् ।

नरप्लान्ट ७ वर्षको लागि दिइन्छ । यो अरु साधनभन्दा महँगो हुन्छ । त्यसैले सजिलैसँग पाउन सकिदैन । नरप्लान्ट राख्न तालिम प्राप्त व्यक्ति हुनुपर्छ । यो शरीरभित्र राख्ने भए तापनि यसले शारीरिक रुपमा कुनै पनि किसिमको असर गर्दैन ।

जानकारी छ, प्रयोग छैन
समय परिवर्तनसँगै समाज शिक्षित छ । शहरदेखि गाउँसम्म सबैलाई परिवार नियोजनका साधनहरूको बारेमा जानकारी हुँदाहुँदै पनि विगत १० वर्षदेखि यसको प्रयोग नबढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । आधिकांश महिलाहरूमा परिवार नियोजनका साधन प्रयोग गर्नाले सधैँका लागि गर्भ नरहने डर रहने गरेको पाइन्छ । कसैकसैमा यसले महिनावारी गडबडी गर्ने तथा पाठेघरका असर गर्ने तथा क्यान्सर नै हुन सक्ने डर पनि रहेको उनीहरूको भनाई छ ।

परिवार नियोजन सम्बन्धी विज्ञसंग परामर्श नै नगरी यस सम्बन्धी पूर्ण ज्ञान नभएका मानिसले भनेकै आधारमा परिवार नियोजनका साधनका बारेमा भ्रम पालेर तनावमा बसेका धेरै दम्पत्ति हाम्रै समाजमा छन् । स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता आधिकांश महिलाहरूमा गर्भ नराख्ने चाहना हुने गरेको तर परिवार नियोजनका साधनहरू प्रयोग गर्न डराएका अनि यस सम्बन्धी परामर्शका लागि लजाउने गरेको पाइन्छ ।

शिक्षाले परिवार नियोजनमा ठुलो महत्व राखेको पाइन्छ । शिक्षित परिवारमा ढिलो विवाह हुने, थोरै सन्तान पाउने र राम्रो जन्मान्तर कायम गरेको पाइन्छ । त्यसैले शिक्षित बर्ग परिवारप्रति जिम्मेवार र संवेदनशील रहेको आभास गराउँछ तर यस्ता वर्गमा परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

शहरी क्षेत्रमा परिवार नियोजनका साधन प्रयोग भन्दा गर्भपतन गर्नेको संख्या बढिरहेको छ भन्ने तथ्यांक आइरहँदा ग्रामीण क्षेत्र डोल्पामा भने परिवार नियोजनका साधनको प्रयोग बढेको मेडिकल अधिकृत उपाध्याय बताउँछन् । गर्भपतन गराउन आउने महिलालाई पनि यसबारे बुझाएर सके स्थाई बन्ध्याकरण नै गराउने र नभएर उनीहरूलाई कुन साधन सजिलो हुन्छ त्यो साधन प्रयोग गराएर मात्रै पठाउने गरिएको उनले बताए ।

परिवार नियोजन, महिला अधिकार
नेपालको संविधानले परिवार नियोजन सेवालाई प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो अधिकार अन्तर्गत रहेर महिलाले आफ्नो परिवारको योजना बनाउन सक्छिन् । तर साधन प्रयोग गर्दा भने होसियारी नअपनाए धेरै असर गर्ने गरेको डाक्टर उपाध्याय बताउँछन् । आफूलाई कुन साधन प्रयोग गर्दा सहज हुन्छ, त्यो बुझेर मात्रै प्रयोग गर्न उनको सुझाव छ ।

धेरै महिलाले अस्थाई साधनको प्रयोगले महिनावारी समयमा नहुने, महिनावारीको समयमा धेरै रगत जाने लगायतका समस्याहरू लिएर आउने गरेको डा. उपाध्याय बताउँछन् । त्यसैले समयमा नै उचित र आफ्नो लागि सही परिवार नियोजनका साधन सम्बन्धी परामर्श गरी यो सेवा लिनु बुद्धिमानी हुने उनको भनाई छ ।