रौतहटमा जग्गा सीमानाको विवाद हुँदा एकको मृत्यु

रौतहटमा जग्गा सीमानाको विवाद हुँदा एकको मृत्यु

रौतहट - रौतहटमा दुई पक्षबीच जमिनको सीमानाको विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतो बीच जमिनको सीमानाको विषयमा विवाद भएको हो ।

हाल पिपरा सीमानामा बस्दै आएका दासलाई विवादको क्रममा आक्रोशित भएका महतोले  धकेल्दा बेहोस भएको स्थानीयले बताएका छन् । घटनालगत्तै  उपचारको  लागी प्रादेशिक अस्पताल गौरमा पुराइएको थियो । प्रादेशिक अस्पताल गौरका चिकित्सकले अस्पतालमा ल्याउँदा दासको मृत्यु भइसकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जना बिच शुक्रवार दिउसो २.१० बजेको समयमा जग्गाको विषयलाई लिएर झैँ झगडा भएको हो । सो क्रममा भुईँमा लडी बेहोस भएका जयप्रकाशलाई स्थानीय अस्पतालमा चेकजाँच गर्दा उपचार हुन नसकेर प्रादेशिक अस्पताल गौरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

यस घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। झैँ झगडाको कारण र संलग्न दोषी विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।