रूस–युक्रेन युद्ध तेस्रो वर्षमा, युक्रेन झनै रक्षात्मक

रूस–युक्रेन युद्ध तेस्रो वर्षमा, युक्रेन झनै रक्षात्मक

कीएभ– शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ र पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट उत्साहित भएको छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४, २०२२ को बिहानै ‘विशेष सैन्य अभियान’ को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरूद्ध विजय गर्ने अनुमान गरेका थिए । तर युक्रेनले अहिलेसम्म रूसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रूसी सेनालाई पश्चगमनगर्न बाध्य बनाएको छ । 

तर युक्रेनले सन् २०२३ को प्रत्याक्रमण अनपेक्षित असफल भएपछि धक्का खाएको छ । यो उसलाई आफ्ना सहयोगीले युद्धका लागि प्रतिवद्धता गरे अनुसारको हतियार र आर्थिक सहयोगको अभावका कारण भएको रूस-युक्रेन युद्धबारे नजिकबाट जानकारी राख्ने विश्लेषकहरूले बताएका छन् । 

रूसी सेनाले युद्ध उत्पादनको वृद्धिका कारण शक्तिको स्थिति निर्माण गरेको छ, जबकि युक्रेनका सैनिकहरूसँग जनशक्तिको कमी छ र तोपखाना र हवाई प्रतिरक्षाको लागि पश्चिमी–आपूर्ति गरिएको गोलाबारूदको यथेष्ठ आपूर्ति नहुँदा सुस्त गतिमा रक्षात्मक लडाइ लडिरहेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी निर्णय ‘प्राथमिकता’ हुनुपर्ने बताएका छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनलगायत पश्चिमा नेताहरूले युक्रेनको ‘असाधारण प्रतिरोध’को प्रशंसा गर्दै शनिबार कीएभ आइपुगेका छन् । 

तर अमेरिकी कङ्ग्रेसले ६० अर्ब अमेरिकी डलरको सहायता कार्यक्रम रोकेपछि युक्रेनका लागि समग्र तस्वीर अन्धकारमय बनेको छ । यो प्रतिज्ञा गरिएको सहयोगको आपूर्तिको ढिलाइको शीर्षस्थानमा आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन सांसदहरूलाई थप अनुदान नरोक्न पुनः आह्वान गर्दै ‘इतिहासले पर्खिरहेको’ र ‘यस महत्वपूर्ण घडीमा युक्रेनलाई समर्थन गर्न असफल भएको दिन’ नबिर्सिने दोहोराए । 

रुसले पूर्वमा कडा आक्रमण गरिरहेको छ र फेब्रुअरी १७ मा डोनेट्स्क नजिकैको मारिङ्का शहरले अति बलियो किल्ला भएको शहर अभ्दाइभ्का कब्जा गरेपछि पछिल्लो आक्रमणको केन्द्रबिन्दु बनेको छ ।

युक्रेनको अर्थव्यवस्थामा पोलिश किसानहरूको सीमा नाकावन्दीले पनि असर पारेको छ जुन कीएभले निर्यातलाई खतरामा पारेको र हतियारको आपूर्ति रोकेको बताएको छ ।

कीएभमा, मनोदशा डरलाग्दो छ तर अझै पनि युक्रेनीहरूले भनेका छन् उनीहरू युद्धसँग अभ्यस्त भइरहेका छन् ।

अठ्तीस वर्षीय व्यवसायी युरी पासिच्निकले एएफपीसँग भने, ‘युक्रेनीहरूले यससँग बाँच्न सिकेका छन् । अब युद्ध हाम्रो दैनिकी भएको छ ।’

कोस्टियनटाइन गोफम्यान, ५१, ले ‘थप हतियारको माग गर्दै यो दुष्ट आत्मालाई आफ्नो भूमिबाट भगाउन र युक्रेनको पुनर्निर्माण सुरु गर्न सहकार्य हुनुपर्नेमा जोड दिए । 

विश्व बैंक, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ र युक्रेनी सरकारको पछिल्लो अनुमानअनुसार रूसको आक्रमणबाट ध्वस्त भएका शहर र शहरहरूको पुनर्निर्माण गर्न युक्रेनलाई लगभग आधा ट्रिलियन डलर आवश्यक पर्छ । युक्रेनले करिब ५० हजार सर्वसाधारण मारिएको अनुमान गरेको छ ।

कुनै पनि पक्षले सैनिक मृत्यु र घाइतेको सङ्ख्या सार्वजनिक गरेका छैनन् भने दुवै पक्षले ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् ।

अगष्ट २०२३ मा द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै युक्रेनको ठूलो सैन्य क्षति (७० हजारको मृत्यु र एक लाख देखि एक लाख २० हजारसम्म घाइते) भएको उल्लेख गरेको थियो । 

गत डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायले तीन लाख १५ हजार रूसी सैनिक मारिएको वा घाइते भएको सङ्केत गरेको थियो ।

रूसी रक्षामन्त्री सेर्गेई शोइगुले युक्रेनमा मस्कोको सेनासँग हालै भेटेको र सेनाको अनुपातका आधारमा फाइदा आफ्नो पक्षमा रहेको बताएका छन्। उनलाई रूसी सेनाले अभ्दाइभ्कालाई नियन्त्रणमा लिएपछि ‘आफ्नो प्रगति जारी रहेको’ बारेमा पनि जानकारी गराइएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि तत्काल आवश्यक तोपखानाको गोलाबारुदको उत्पादन बढाउन २४ करोड ५० लाख पाउन्ड (३१ करोड १० लाख अमेरिकी डलर) को नयाँ रक्षा प्याकेजको घोषणा गरेका छन् । 

मस्कोले आफ्नो हतियार उत्पादनमा व्यापक वृद्धि गरेको छ र इरानबाट ड्रोन खरिद गरेको छ । रूसले उत्तर कोरियाली क्षेप्यास्त्रहरू प्रयोग गरेको पुष्टि भएकोे कीएभले दावी गरेको छ । 

जेलेन्स्कीले गत डिसेम्बरमा सेनाले थप पाँच लाख सैनिक परिचालन गर्न चाहेको बताएका थिए । जनपरिचालनलाई व्यापक बनाउने विधेयकले जनमानसमा व्यापक त्रास पैदा गरेको छ ।

यस द्वन्द्वले रूसलाई पश्चिमबाट अझ बढी अलगावतर्फ धकेलेको छ, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले धेरै प्रतिबन्धहरू लगाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनको ‘वार मेसिन’ रोक्न निरन्तर दबाब दिने र पुटिनका सबैभन्दा मुखर आलोचक एलेक्सी नाभाल्नीको साइबेरियाको जेलमा गत हप्ता भएको मृत्युका लागि पनि मूल्य तोक्न माग गर्दै रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका छन् । 

उनले युद्धका वर्षहरू देशभक्ति जगाउन र असहमतिमाथि अझ कठोर दमन गर्न प्रयोग गरेका छन् । युद्धको विरोधमा आवाज उठाउने साहस थोरैले मात्र गरेका छन् ।

विपक्षी नेता नाभाल्नीको निधनले पुटिनका कट्टर प्रतिद्वन्द्वीलाई हटाएको छ र उनले अर्को महिना हुने चुनावमार्फत् आफ्नो कार्यकाल लम्ब्याउने तयारीलाई पक्का गरेका छन् ।

मस्कोको सडकमा हिँडिरहेका अधिकांश मानिसहरूसँग गरिएको सर्भेक्षणमा युक्रेनमा लडिरहेका रूसी सैनिकलाई आफ्नो समर्थन रहेको एएफपीसँग उनीहरूले बताएका थिए ।