भारतीय दूतावासको सहयोगमा निर्मित राममणि बहुमुखी क्याम्पस र नाहरपुर माविको भवन उद्वघाटन

भारतीय दूतावासको सहयोगमा निर्मित राममणि बहुमुखी क्याम्पस र नाहरपुर माविको भवन उद्वघाटन

काठमाडौं - भारतीय दूतावासको आर्थिक सहयोगमा रुपन्देहीमा राममणि बहुमुखी क्याम्पसको क्याम्पस भवन र नाहरपुर माविको विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको ५ करोड ८ लाख अनुदानमा राममणि बहुमुखी क्याम्पसका लागि तीन तले क्याम्पस भवन र फर्निचर साथै  नाहरपुर माध्यमिक विद्यालयका लागि दुईतले विद्यालय भवन निर्माण भएको हो ।

आइतबार भारतीय राजदूत नवीन श्रीवास्तव भवन उद्वघाटन गर्न रुपन्देही पुगेका थिए । उद्वघाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल,जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइ, तिलोतमाका मेयर रामकृष्ण खाण साथै जनप्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस तथा विद्यालय व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्मित आयोजनाहरु भारत र नेपालबीचको अत्यन्त सुदृढ विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरूमा भारतीय सरकारको सहयोगका कारण  फराकिलो प्रगति हासिल हुँदै गएको बताएका थिए ।

उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुसार विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गरे।

श्री राममणि बहुमुखी क्याम्पस सन् १९८८ मा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्थापना भएको थियो र यो प्रसिद्ध राष्ट्रिय शिक्षाविद् र भाषाविद् राममणि आ.दिको नाममा रहेको सार्वजनिक सामुदायिक क्याम्पस हो।

हाल स्नातकोत्तर तहमा मानविकी र व्यवस्थापन गरी दुई भिन्न संकाय सञ्चालन भइरहेका छन् भने स्नातक र उच्च माध्यमिक बोर्डमान व्यवस्थापन, शिक्षा र मानविकी संकाय संचालन भइरहेका छन् । क्याम्पसका विद्यार्थीहरूको कुल संख्या २६०० भन्दा बढी छ, जसमध्ये करिब ७०% छात्राहरू छन्।

श्री नाहरपुर माध्यमिक विद्यालय सन् १९७१ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो, त्यसपछि सन् १९९६ मा माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति भयो। राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध विद्यालयले शिक्षा र व्यवस्थापन विषयमा +२ तहको शिक्षा दिइरहेको छ । विद्यालयमा १३५० भन्दा बढी विद्यार्थीहरू छन्, जसमध्ये लगभग ६०% छात्राहरू छन्। 

गुणस्तरीय भौतिक पुर्वाधार निर्माण भएपछि क्याम्पस र विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणमा उल्लेखनीय सफलता हासिल हुने आशा गरिएको छ ।