अस्थिर राजनीतिको परिणाम: एक वर्षमा ३ गठबन्धन, १३ पटक मन्त्रीमण्डल विस्तार

अस्थिर राजनीतिको परिणाम: एक वर्षमा ३ गठबन्धन, १३ पटक मन्त्रीमण्डल विस्तार

काठमाडौं - सत्ता समीकरण फेरबदलका माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अस्थिर राजनीतिको उपयोग गर्दै २०७९ पुस १० को गठबन्धनलाई पुनः ब्युँताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार रातारात प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर एक वर्षअघिकै समीकरण ब्युँताएर जाने निर्णय लिनुभएको हो ।

संसद्को पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो एमालेलाई प्रयोग गर्दै प्रधानमन्त्रीको कुर्सी हात पारेका प्रधानमन्त्री प्रचण्डले २०७९ को आम निर्वाचनपछि तेस्रोपटक सत्ता गठबन्धन फेरबदल र १३ पटक मन्त्रीमण्डल पुनर्गठन गरिसक्नुभएको छ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहित पाँच दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले ६४ दिनमै उक्त गठबन्धन तोडेर निर्वाचनअघिकै काँग्रेस–माओवादी गठबन्धनलाई ब्युँताउनुभएको थियो । काँग्रेससँगको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राजमो, जनमत, लोसपालगायत दलको समर्थन थियो ।

गत वर्ष चैत्र २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेलाई राष्ट्रपति नदिएर गठबन्धन फेरेको माओवादीले यसपटक कांग्रेसलाई राषि्ट्रयसभाको अध्यक्ष नदिने बहानामा गठबन्धन तोडेको हो ।

यद्यपि, यो खेलमा राष्ट्रियसभा अध्यक्षको मात्रै एजेन्डा थिएन । कोशी प्रदेशमा मुख्यमन्त्री बनाउँदा काँग्रेसका एक समूहबाट पाएको धोका, राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारले हारेको पीडा, काँग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा उल्लेखित …मुलुक माओवादीको दश वर्षे हिंसात्मक द्वन्द्वको चपेटामा परेको भन्ने वाक्यांश, सोही बैठकमा महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव र काँग्रेस नेता शंकर भण्डारीले चलाएको हिन्दु राज्य घोषणाको अभियानसमेतले काम गरेको माओवादीका नेताहरूले जिकिर गरेका छन् ।

एक वर्षमै तीनपटक गठबन्धन परिवर्तन र १३ पटक मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक हतारमा गरेको एमालेसँगको गठबन्धन कति टिक्छ भन्नेमा अन्यौलता छाएको एमालेकै एकाथरी नेताहरूले बताएका छन् । सत्ताको खेलमा गठबन्धन र मन्त्रीमण्डल परिवर्तनकै कार्यसूचीलाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री प्रचण्डबाट देश र जनताका पक्षमा भाषणबाहेक अरू केही नआएको टिप्पणी शुरूभएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालकोटबाट बालुवाटार मोडिएका एमाले अध्यक्ष ओलीले समेत ठट्यौली शैलीमा चिया खान प्रधानमन्त्रीकहाँ हिँडेको बताउनुभएको थियो । अहिले ओली र प्रचण्डको प्राथमिकतामा सरकारमा कसरी भागबण्डा गर्ने भन्ने नै छ । सोमबार नै एमाले, माओवादी केन्द्र र रास्वपाका तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिइसकेका छन् । सधैँ सत्ता प्राप्तिलाई केद्रबिन्दुमा राखेर राजनीतिक चलखेलमा सक्रिय पुराना राजनीतिक दलहरूप्रति नागरिकको वितृष्णा बढिरहेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमले थप आशा जगाउन नसक्ने राजनीतिक विश्लेषक शंकर तिवारीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

मन्त्रीपरिषद् विस्तारमै वर्ष बित्यो

आम निर्वाचनपछि चुनावी गठबन्धन तोड्दै एमालेको मुख्य सहयोगमा पाँच दलीय गठबन्धन बनाएर माओवादी अध्यक्ष प्रचण्डले २०७९ पुस ११ मा पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो । सोही दिन उहाँले नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछने सम्मिलित सानो मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।

यस बीचमा भएका विभिन्न राजनीतिक उतार चढावका बीच प्रधानमन्त्री दाहालले सोमबार आफ्नो क्याबिनेटमा १३ औं पटक मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । २०७९ माघ १० मा दोस्रोपटक, माघ १४ मा तेस्रो, माघ २३ मा चौथो, फागुन १४ मा पाँचाैं, फागुन १६ मा छैठौं, चैत्र १७ मा सातौंपटक मन्त्रीमण्डल विस्तार गरेका दाहालले २०८० वैशाख ३ मा आठौं, वैशाख २१ मा नवौं, वैशाख २४ मा १० औं, जेठ ९ मा ११औं र साउन २८ मा १२औंपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । एमालेसँगको पुनर्मिलन गठबन्धनपश्चात् सोमबार प्रधानमन्त्री दाहालले १३औंपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ:  प्रचण्ड

सत्ता गठबन्धन परिवर्तनसँगै समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको जिकिर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्डÚ आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गर्नुभएको छ । नयाँ सत्ता समीकरणप्रति सङ्केत गर्दै प्रचण्डले भन्नुभयो– …म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।

आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन, ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ ।

माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउँदो नदी भएको समेत बताउनुभयो । …निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ । माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरूको कसैको होइन ।

प्रचण्ड र ओलीबीच आधाआधा कार्यकाल प्रम बन्ने सहमति

झन्डै १५ महिना सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच नयाँ गठबन्धन बनेको मितिले आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको नेताहरूले बताएका छन् ।

यसअघिको काँग्रेस गठबन्धनमा प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाबीच क्रमशः २, १ र २ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको थियो । सोअनुसार प्रचण्डले १४ महिना सरकारको नेतृत्व गरिसकेका थिए । अब केही समयपछि नेपाल प्रधानमन्त्री रहने पालो थियो तर यसैबीच प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएपछि उहाँको प्रधानमन्त्री खाने अवधि लम्बिएको छ ।

नयाँ समीकरणअनुसार प्रधानमन्त्री …प्रचण्ड अझै डेढ वर्ष बढी प्रधानमन्त्रीका रूपमा रहने बताइएको छ । त्यसपछि भने ओली प्रधानमन्त्री बन्ने सहमति गरिएको छ । यसै गरी नयाँ गठबन्धनको सहमति अनुसार आगामी २०८४ को आमनिर्वाचनमा एमाले र माओवादीबीच सहकार्य हुने गरी सहमति गरिएको छ ।

प्रचण्ड धोकेवाज : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनबाट प्रधानमन्त्री …प्रचण्डले धोका दिएको बताउनुभएको छ । उहाँले गठबन्धन टुटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्डÚबाट धोकेवाज भएको बताउनुभएको हो । काँग्रेस पदाधिकारीको बैठकमा उहाँले भन्नुभयो– …एमाले अध्यक्ष केपी ओलीजीले पटकपटक भेट्न आग्रह गर्दासमेत गठबन्धनमा शंका उत्पन्न हुन्छ भनेर गइनँ । तर प्रचण्डजीले गठबन्धनलाई धोका दिनुभयो ।

यसैबीच कांग्रेसले सत्ता राजनीतिमा आएको फेरबदल र आगामी रणनीतिका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सकारात्मक दिशा दिन नयाँ गठबन्धन:  ओली

नयाँ सत्ता समीकरणको मुख्य सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सकारात्मकतातर्फ लैजान पहल गर्ने बताउनुभएको छ । सोमबार जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– …देशको अवस्था सुधारका लागि नयाँ गठबन्धन गरिएको हो । आगामी दिनमा यस गठबन्धनले मुलुकलाई सकारात्मक दिशा दिनेछ ।

सत्तालिप्साको फोहोरी खेल:  भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्तालिप्साका निम्ति पटकपटक मञ्चन हुने फोहोरी खेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्नुका साथै प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको बताउनुभएको छ ।

उहाँले नाङ्गो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै …ठूलो उथलपुथल भन्ने प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्डको अभियाक्तिको समेत आलोचना गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले यसअघि भन्नुभएको छ – …नेपाली …किस्सा कुर्सीका ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो केही चतुरहरूको निकृष्ट सत्तालिप्सा निमि्त पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने, जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो ।

भागबन्डामा विवाद

नयाँ सत्ता समीकरण गरेको माओवादी–एमालेभित्र भागबन्डाको किचलो शुरु भएको छ । एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताबीच पटकपटक छलफल गर्दा पनि सोमबार कसले के कति मन्त्री पाउने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । सोमबार नै माओवादी, एमाले र रास्वपाका अध्यक्ष रवि लामिछानेसहित नेताहरूले मन्त्रीको शपथ लिने भनिए पनि गठबन्धनमा भागबन्डा नमिल्दा मन्त्री पठाउने काम थाती राखेको नेताहरूले बताएका छन् । यो गठबन्नधमा राप्रपाले भने भाग नलिने जनाएको छ । उक्त दलका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाले आन्दोलनको घोषणा नै गरिसकेकाले अहिले सरकारमा सहभागी नहुने बताउनुभयो ।

सत्ताधारी दलहरूमा गृह, अर्थसहितका महत्त्वपूर्ण मन्त्रालय भागबन्डामा कुरा मिल्न सकेको छैन । रास्वपाका अध्यक्ष रवि लामिछानेले उपप्रधान तथा गृहसहित पाँच मन्त्रालय मागेपछि गठबन्धनभित्र शुरुमै तनाव उत्पन्न भएको नेताहरूले दाबी गरेका छन् ।

प्रधानमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल; पुराना सबै पदमुक्त

नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रिमण्डल बनेको छ । प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई बर्खास्त गरी आफ्नो एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गर्नुभएको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका मन्त्रीहरूलाई कुनै मन्त्रालय जिम्मेवारी दिइएको छैन । मन्त्रीहरूको जिम्मेवारी नतोकिँदा प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । मन्त्रालय नतोकिँदासम्म नवनियुक्त मन्त्रीले पदभार ग्रहण नगरी नै प्रधानमन्त्री कार्यालयमा हाजिर गर्ने र मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन् ।

नयाँ गठबन्धनभित्र सिट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् । पुराना सबै मन्त्रीहरू स्वतः पदमुक्त भएका छन् । 

 

- नेपाल समाचारपत्र