ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन बसोबास गर्दै आएकालाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने घर परिवारलाई निस्सा वितरण गरेको हो ।

मिक्वखोला गाउँपालिका–१ र २ मा आठ–आठ जनालाई निस्सा वितरण गरिएको छ भने ३ नम्बर वडामा दुई जना, ४ नम्बर वडामा पाँच जना र ५ नम्बर वडामा दुई जनालाई निस्सा वितरण गरिएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताए ।

निस्सा वितरण गरेसँगै जग्गा खोजी गरेर केही महिनापछि जग्गा उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

निस्सा पाएपछि जग्गा पाउने आशाले भूमिहीन स्थानीय भने खुसी भएका छन् । राष्ट्रिय भूमि आयोग ताप्लेजुङ अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिकवाखोला गाउँपालिका दोस्रो भएको छ ।

गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको थियो ।

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।