बीस लाखको लागतमा कार्यालय भवन निर्माण

बीस लाखको लागतमा कार्यालय भवन निर्माण

मनहरी - पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । भवनको आज उद्घाटन गरिएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यहरुसँग रकम सङ्कलन गरेर भवन निर्माण गरिएको एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले बताउनुभयो । उक्त भवन कूल रु २० लाखको लागतमा निर्माण गरिएको उहाँले बताउनुभयो । भवनको उद्घाटन नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले गर्नुभएको हो । 

सोही अवसरमा श्रेष्ठले कार्यकर्ताले चाहे भने सहयोग जुटाएर पनि विकास–निर्माणको काम गर्न सकिने बताउनु भयो । भवन बनेपछि अब भवनबाटै पार्टीका गतिविधि सञ्चालन गर्न सहज मिल्ने उहाँले बताउनुभयो ।  

नेकपा (एमाले) मकवानपुरका अध्यक्ष बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, पार्टी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठकलगायत उपस्थित हुनुहुन्थ्यो ।