सेवा निवृत्त सम्पादक, कर्मचारीको बिदाइ

सेवा निवृत्त सम्पादक, कर्मचारीको बिदाइ

काठमाडौँ - लामो समयसम्म राष्ट्रिय समाचार समिति (रासस) मा सेवागरी अवकास हुनुभएका कर्मचारीको बिदाइ गरिएको छ । रासस केन्द्रीय कार्यालयमा भद्रकालीमा आज आयोजित कार्यक्रममा वरिष्ठ सम्पादक मदन गौतम, उपव्यवस्थापक मनोजकुमार लामिछाने र लेखा अधिकृत रवीन कार्कीलाई बिदाइ गरिएको हो । 

वरिष्ठ सम्पादक गौतम उमेरहदका कारण अवकाश हुनुभएको हो । यस्तै उपव्यवस्थापक लामिछानेले स्वेच्छिक अवकाश लिनुभएको हो भने लेखा अधिकृत कार्की निजामती सेवामा प्रवेश गर्नुभएको हो । 

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बिदाइ हुने कर्मचारीले राससलाई जीवन्त बनाउन अतुलनीय योगदान गर्नुभएको भनी धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बिदाइ भएर जाने कर्मचारीको आगामी जीवन उन्नति/प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । 

राससका महाप्रबन्धक सिद्धराज राईले राससमा काम गर्दा विगतका तिक्तता बिर्सेर आगामी जीवन सुखमय बितोस् भनी कामना गर्नुभयो । रासस सञ्चालक समिति सदस्यद्वय डिल्लीराम भट्टराई र शङ्कर खरेलले राससमा लामो समय सक्रियतापूर्वक काम गर्नुभएको उल्लेख गर्दै आगामी दिनमा पनि सक्रिय रहन आग्रह गर्नुभयो । 

वरिष्ठ सम्पादक मदन गौतमले तीन दशक लामो सेवा अवधिका क्रममा भएका ऐतिहासिक परिवर्तनका अनुभव सुनाउनुभयो । उहाँले राससलाई समायानुकूल, प्रतिस्पर्धी र विश्वसनीय समाचार समितिका रुपमा विकास गर्न सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन एकताबद्ध हुनुपर्ने बताउनुभयो । उपव्यवस्थापक मनोजकुमार लामिछानेले पछिल्लो समय सूचना प्रविधिको विकाससँगै समाचार सम्प्रेषणमा सहज भएको अनुभव सुनाउनुभयो । लेखा अधिकृत रवीन कार्कीले राससमा छोटो समय भए पनि आफूले इमानदारितापूर्वक जिम्मेवारी बहन गरेको बताउनुभयो । सो अवसरमा अवकाश प्राप्त कर्मचारीलाई रासस कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस, रासस कर्मचारी युनियन र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।