एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट
![एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_yyxcgW3XHI_dcjmlv4ihm8rvhpxvzo7ctza1ufemmsmins8zbotdak0h0ocuvm3htezf1oe_1ykDpv9MGq_bqkt8p72i3fghg8dr2il9t3saml4gtftinsgpa1hj3tmltgz9lc7gmvocqiy_d3FFh350pR_xbgfuq3itjphof5yt2xl0uxvm2mua05mbhnas2ictyckyca1gcqid0nsc2ok_GkYV4AjCND_y57kk20ko1c4taxtvy6go9iakeojjfxazqgprtdb4gz0syr5ax7cfcctiler.jpg)
काठमाडौँ - एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन : डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्त्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गर्नुभयो । दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गर्नुभयो । “दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु”, अर्थमन्त्री पुनले भन्नुभयो ।
नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिनुभयो । युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम ल्याउने तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया