राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए। 

‘यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,’ प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । 

राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट, उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट, सभामुख नेकपा (एमाले)को पृष्ठभूमिबाट, राष्ट्रियसभा अध्यक्ष  माओवादी केन्द्रको पृष्ठभूमिबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट, सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।’

यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताए ।

भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताए। 

‘चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।’

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उनले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप-२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको समेत स्मरण गरे ।