बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रण भएन

बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रण भएन

ढोरपाटन (बागलुङ) - बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको वन क्षेत्रमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित शारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् । 

तीव्र गतिमा हावाहुरी चलेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निमाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उहाँले बताउनुभयो ।

मान्द्रेढुङ्गाबाट सुरु भएको आगो सारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो । आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उहाँको भनाइ छ ।

“भीषण रुपमा आगलागी भएको छ । गाउँका सबै नागरिक आएर आगो निभाउने प्रयास गरिरहेका छौँ । हावाहुरी चलेकाले नियन्त्रणमा लिन सकिएको छैन । आगो बाटाकाचौरको शारदा मावि र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ”, बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले भन्नुभयो, “आगलागी नियन्त्रणका लागि प्रहरीको टोली पनि आएको छ । थप आउने क्रममा रहेको जानकारी पाएका छौँ ।”