जाचबुझ आयोगले निर्दोष देखाएको भएपनि कान्तिपुरले बद्नाम गरेको भन्दै सर्वेन्द्रको कडा चेतावनी

जाचबुझ आयोगले निर्दोष देखाएको भएपनि कान्तिपुरले बद्नाम गरेको भन्दै सर्वेन्द्रको कडा चेतावनी

काठमाडौं -  पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी प्रकरणमा बद्नाम गर्ने गरि समाचार प्रसारण गरेको भन्दै कडा चेतावनी दिएका छन् ।

जाचबुझ आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गरेको प्रतिवेदनमा नजोडिएका खनाललाई न्यायिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गलत समाचार लेखेको भन्दै आपत्ति जनाएका हुन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खनालले कान्तिपुरको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको दाबी गरेका छन् ।

उनले आफूसँग नाम जोडिएका व्यक्ति जीवन चलाउनेलाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने,‘न मैले चलाउने भन्नेलाई चिनेछु, म सक्याउनेलाई नै चिनेछु । प्रमाणहरु छन् भने अनसुन्धान गर्नुहोस । ३० वर्ष प्रहरी सेवामा निष्ठापूर्वक काम गरेको छु । देशप्रति र नागरिकप्रति त्यही सोच र विचार छ । किन यसरी प्रहार हुन्छ ?’

उनले आफूले कान्तिपुर दैनिकलाई माओवादी द्धन्द्धको बेलामा पनि प्रोटेक्ट गरेको विगत स्मरण गराए । उनले भने,‘२०६३ सालमा कान्तिपुरमा एट्याक भयो । मैले प्रेस फ्रिडमको पक्षमा लडें । प्रेसलाई सुरक्षित गर्नुपर्छ भनेको हो नि। मैले त त्यतिबेला कान्तिपुरको वितरणमा समेत सहयोग गरें । म आईजी हुँदापनि कान्तिपुरले गलत समाचार छाप्यो । मैले गलत समाचार किन छापेको भनेर सुधिर शर्मालाई भनेको थिएँ । उहाँले गल्ती भयो भनेर खण्डनको लागि भन्नुभएको थियो । तर, मैले खण्डनभन्दापनि रिपोर्ट प्रकाशन गर्दा गल्ती भयो भनेर लेख्नुहोस भनेको थिएँ ।’

खनालले तत्काल जाचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।उनले भने,‘तिनीहरुलाई कारबाही नगरिए बाटोमा लतारिएर कारबाही गर्नुपर्छ । दिस ईज टु मच ।’ उनले अब आयोगको प्रतिवेदन आईसकेपछि दोषीहरुलाई कारबाही गर्न गृहमन्त्रीलाई अब के सोधिरहनुपर्छ र ? भन्दै फटाफट काम गर्न सुझाव द्यिए । उनले भने,‘ममाथि गम्भीर लाञ्छना लाग्यो । यो तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथाहरु बुनेर कान्तिपुर दैनिकले समाचार सम्प्रेषण गरेको छ । यसको मैले घोर भत्सना गरेको छु ।’