मोरङको पथरीमा आगलागी, एक करोड ५० लाख बढीको क्षति

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाख बढीको क्षति

मोरङ– मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनसहित त्यहाँ राखिएको अन्न नष्ट भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।

मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने हुन पाएन  । आगो निभाउन पथरी शनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।

आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।