हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत सेवा

हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत सेवा

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत सेवा विस्तार गरिएको छ ।

रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत सेवा उपलब्ध गराउँदै आएको थियो भने बुधबारदेखि चौबिसै घण्टा विद्युत सेवा निरन्तर हुने गरी विद्युत सेवा विस्तार गरिएको उक्त कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए ।

स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनको भनाइ छ । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।

विद्युत लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियो भने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो ।

वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक दुई हजार विद्युत शुल्क तोकिएको अध्यक्ष बुढाले बताए । गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई एक हजार शुल्क तोकिएको छ ।