कर्मचारीले होली पर्वमा समेत तलब पाएनन्

कर्मचारीले होली पर्वमा समेत तलब पाएनन्

रौतहट - जिल्लाको फतुवाविजयपुर नगरपालिकाका कर्मचारीहरूले पर्वमा पनि तलब सुविधा नपाउने भएका छन् । नगरपालिकाका योजनाहरू सञ्चालनका अख्तियारी प्रदान नभएको कारण रोकिएको कर्मचारीको तलब सुविधा होली पर्वमा नपाउने सम्भावना बढेर गएको हो।

नगर सभाबाट पारित भएको योजना, कार्यक्रम तथा प्रशासनिक खर्च गर्न नगर प्रमुखबाट स्वीकृति लिनु पर्ने कानुनी प्रावधान रहेकोमा अहिले सम्म कार्यवाहक नगर प्रमुख अम्बया खातुनले अख्तियारी प्रदान नगरेको कारण आर्थिक कारोबार रोकिएको लेखापाल नवीन यादवले बताएका छन्। 

खर्च गर्ने अख्तियारी प्रदान नभएको कारण नगरपालिकाको कर्मचारीको गत जेष्ठ महिना देखि तथा साउन महिना देखि शिक्षक कर्मचारीको तलब भुक्तानी हुन नसकेको अवस्था सृजना भएको लेखापाल यादवले बताए।  तलब नपाएको भन्दै शिक्षकहरू पटक पटक आन्दोलन गर्दै आएको छ। वार्षिक परीक्षा नलिने शिक्षकहरूले घोषणा गरे पछि कार्यवाहक नगर प्रमुख खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले चैत्र ४ गते सम्म बाँकी रहेको तलब सुविधा दिने प्रतिबद्धता जनाए पछि शिक्षकहरूले धर्ना कार्यक्रम स्थगित गरेका थिए। 

कार्यवाहक नगर प्रमुख खातुनले कर्मचारीहरूको तलब र कार्यालय सञ्चालन खर्चको लागि अनुमति दिन तयार रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल यादवले सम्पूर्ण योजनाको बजेट सञ्चालन गर्न अनुमति दिनु पर्ने अडान लिएको बताए।  रेड बुक आफै तयार गरी करिब ३ करोड भन्दा बढी रकम निकाल्ने षड्यन्त्र गरेको कर्मचारीको तलब बाहेकको खर्च गर्न अनुमति दिने अवस्था नरहेको उहाँको भनाई रहेको छ। 

कार्यवाहक नगर प्रमुख खातुनले नगर सभाको खर्च भनी ३० लाख उल्लेख गरेकोले अनियमितताको आशङ्का रहेको बताए।