अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण
न्युयोर्क– अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । म्यासुचेट्स जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा हो।’
अंगको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मृगौला प्रत्यारोपणको लागि प्रतिक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् ।
शल्यक्रिया गर्ने टोलीका सदस्य डा. तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौँ बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’
प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जीन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। अस्पतालले भन्यो, ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भैरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’
मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलासिसमा रहेका थिए ।
प्रतिक्रिया