इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
धरान (सुनसरी) - इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रङ्गशालामा भएको खेलमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।
बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल भएको थियो ।
निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भएर रु १० हजार नगद हात पारेका थिए । आजको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच हुनेछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया