कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल
ताप्लेजुङ– पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् ।
कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ । चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।
पर्यटक आगमन सुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजङ्घा क्षेत्रमा ६ सय ५० जान बाह्य पर्यटक आएको उनले बताए ।
आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।
कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।
प्रतिक्रिया