बाँसका मौलिक सामग्री विस्थापित हुँदै

बाँसका मौलिक सामग्री विस्थापित हुँदै

अत्तरिया (कैलाली) - ग्रामीण क्षेत्रमा प्रयोग हुँदै आएका मौलिक सीपमा आधारित बाँस तथा निगालोको चोयाबाट निर्मित सामग्री विस्थापित हुन थालेका छन् । पछिल्लो समय प्रविधिको विकाससँगै बजारमा प्लास्टिकजन्य सामग्री आउन थालेपछि बाँस तथा निगालोका घरायसी प्रयोजनका मौलिक सामग्री विस्थापित हुन थालेका हुन् ।

पहिले घरायसी प्रयोग, अन्नभण्डारण, मलखाद्य, घाँस, दाउरा, स्याउला, सोत्तर बोक्नेलगायत काममा प्रयोग हुने बाँस तथा निगालोबाट बनेका सामग्रीको प्रयोग घट्दै गएको स्थानीय बताउँछन् । बाँस तथा निगालोबाट बनेका सामग्रीको सट्टामा प्लास्टिक, जस्तापातालगायतका सामग्री बजारमा आउन थालेपछि पेसा नै सङ्कटमा पर्न थालेको कैलालीको धनगढी उपमहानगरपालिका–११ शिवशक्ति टोलका ठक्कर विकले बताउनुभयो ।

उमेरले ४६ वर्षीय विकले बाँसका सामग्री बनाउन लागेको करिब २५ वर्ष भएको बताउँदै पछिल्ला केही वर्षयता बाँसबाट बनाइएका सामान बिक्री गर्न समस्या हुन थालेको बताउनुभयो । उहाँले लामो समयदेखि बाँसको चोयाबाट डोका, नाङ्ला, छिटुवा, भकारी, छाप्रालगायतका सामग्री बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले यो पेसाबाट कमाइ पनि राम्रै हुन्थ्यो । गाउँगाउँमा गएर सामान बेच्थेँ । आजकाल बजारमा बाँसको सट्टामा प्लास्टिक, जस्तापाताका  सामान सस्तोमा पाउन थाले । बाँसका सामान बेच्नै गाह्रो हुन्छ ।”

“एउटा डोकोलाई छदेखि सात सयसम्म, नाङ्लोलाई पाँचदेखि छ सयसम्ममा बिक्री गर्छु । प्लास्टिकबाट बनेका सामान योभन्दा सस्तोमा आउँछन्”, उहाँले भन्नुभयो, “बाँसका सामग्री बलिया र टिकाउ पनि हुन्छन् । मेहनत पनि बढी लाग्छ त्यो ग्राहकले बुझ्दैनन् ।” यही पेसाबाट सात जनाको परिवार पाल्दै आएका विकले अब यसबाट गुजारा चलाउन नसकिने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँस पनि किन्नुपर्छ । सामान बनाउँदा मेहनत धेरै लाग्छ । सस्तोमा बेचौँ भने बाँसकै मूल्य आउँदैन ।”

कमाइ राम्रो नहुने भएपछि धेरैले पेसा नै छाड्दै गएको उहाँले बताउनुभयो । “पछिल्लो पुस्ताले यो सीप नै सिकेका छैनन्”, उहाँले भन्नुभयो, “हामीले त जसोतसो यो पेसा गरेकै छौँ । कमाइ राम्रो हुने, सजिलै बिक्री हुने भए त नयाँपुस्ताले पनि काम गर्थे होला ।” बाँस किनेर मेहनत गरी बनाएका सामान बिक्री गर्न समस्या हुन थालेको सोही ठाउँकी स्थानीय पाउनी कामीले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले हामीले यसैबाट परिवारको गुजारा चलाउने गरेका थियौँ । दिनको एक हजारसम्म कमाइहुन्थ्यो । आजभोलि बाँसबाट बनाइएका सामान बिक्री हुनै छाडे ।” 

उमेरले ६० वर्षीया कामीले भन्नुभयो, “आजकाल बजारमा प्लास्टिकका सस्ता सामान आउन थाले । बाँसको एउटा नाङ्लो किन्ने पैसाले प्लास्टिकका तीन वटा आउँछन् । जसले पनि सस्तो नै किन्ने हो ।” सस्ता प्लास्टिकका सामग्रीले बाँसका सामग्री विस्थापित हुँदै गएपछि पुर्ख्यौली सीप नै हराउँदै गएको स्थानीय खेमबहादुर विकले बताउनुभयो । सरकारले यस्ता स्थानीय उत्पादनका लागि बजारीकरणको व्यवस्था गरिदिए सहज हुने उहाँको भनाइ छ ।

परम्परागत सीपमा आधारित पेसाको संरक्षणमा जोड दिइने धनगढी उपमहानगरपालिका–११ का वडाध्यक्ष रुपबहादुर कुँवरले बताउनुभयो । “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ । वडाले पनि सामान किन्दा स्थानीय उत्पादनलाई जोड दिनेछ”, उहाँले भन्नुभयो, “यस्ता पेसाको प्रवर्द्धनका लागि आगामी दिनमा सीपमूलक तालिम दिने गरी योजना ल्याउँछौँ ।”