लामिछाने गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो : कांग्रेस

लामिछाने गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न पुनः माग गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन प्रक्रिया रोकिएको आरोप लगाए ।

उनले यसबाट सरकारप्रति विश्वासको संकट उत्पन्न भएको बताए । उनले भने, ‘अनुसन्धान अलपत्र प¥यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।’

उनले सरकारबाटै अनुसन्धान प्रभावित पार्ने काम भएकाले कांग्रेसले निरन्तर संसदीय छानबिन समितिको माग उठाइरहने स्पष्ट पारे।

सांसद यादवले विषय उठिसकेकाले गृहमन्त्री लामिछानेले छानबिनमा सहयोग गर्नुपर्ने धारणा राख्दै रास्वपाका अन्य नेताहरू पनि सहकारी ठगी प्रकरणमा जोडिएको कुरा बाहिर आएको बताए ।

उनले गृहमन्त्रीमाथि सदनमा उठाइएको विषयलाई कमजोर नठान्न सरकारलाई चेतावनी समेत दिए। उनले भने ‘गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने थुप्रै कारण छन्। हामीले जिम्मेवार ढंगले सदनमा कुरा उठाएका हौँ। कांग्रेसको संसदीय अनुशासन र गरिमालाई कमजोरको रुपमा नठानियोस्।’