रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु
किभ– रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।
खार्किभका मेयर आइगोर टेरेखोभले एउटा आवासीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिए ।
उनले अर्को एक आवासीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए। प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।
खार्किभका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीबार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गरे।
खार्किभ समेत युक्रेनका अरु शहरहरूलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरूले आफ्ना समर्थक राष्ट्रहरू समक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरूले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् ।
यद्यपि युक्रेनका लागि अमेरिकी सैनिक सहायता पछिल्लो अवधिमा कम हुँदै गएको छ । अमेरिकी तल्लो सदन कङ्ग्रेसले युक्रेनका लागि प्रस्तावित ६० अर्ब डलरको सैन्य सहायताका बारेमा निर्णय नगरेपछि अमेरिकी सैन्य सहायतामा कमी भएको हो ।
प्रतिक्रिया