किसानलाई गोलासहितको मौरी घार वितरण गर्दै रुकुमपश्चिम

किसानलाई गोलासहितको मौरी घार वितरण गर्दै रुकुमपश्चिम

त्रिवेणी– कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । 

जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिए। उनका अनुसार प्रत्येक कृषकलाई एक-एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो । 

साथै टोपी, कुइँगेट र पञ्जा ७०-७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिए । उनका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ । 

आठबिसकोट नगरपालिका-११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताए। 

अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ ।