राससका फोटो पत्रकार श्रेष्ठ पुरस्कृत

राससका फोटो पत्रकार श्रेष्ठ पुरस्कृत

भक्तपुर - राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई आज यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । मध्यपुर सञ्चार समाजले मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन भूमिका खेलेको भन्दै उहाँलाई ‘थेम्मृङ पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको हो ।  

समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभामा मध्यपुरथिमिका सांस्कृतिक धरोहर कला, संस्कृति नृत्य एवं वाद्य गुरु ९६ वर्षीय श्रीगोपाल प्रजापतिले पत्रकार श्रेष्ठलाई दोसल्ला ओढाएर रु पाँच हजार तथा सम्मानपत्र प्रदान गर्नुभयो । 

यसैगरी कार्यक्रममा मध्यपुरथिमिको मूर्त, अमूर्त कला, संस्कृतिको संरक्षण एवं सम्पदाको संरक्षण, संवर्द्धन र पुनः निर्माणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै वाद्य गुरु प्रजापतिले मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।  निवर्तमान नगर प्रमुख श्रेष्ठले आफू नगर प्रमुख हुँदा मध्यपुरथिमिको कला, संंस्कृति र सम्पदा संरक्षणका लागि सक्दो प्रयास गरेको बताउनुभयो । आफ्नो कार्यकालमा घाँसेमैदानमा परिणत भएका पोखरी, लोपोन्मुख भएका सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार गरिएको उहाँको भनाइ थियो । 

पूर्व नगर प्रमुख श्रेष्ठले यहाँको कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर लैजाने लक्ष्य रहेको उल्लेख गर्दै थिमिको विकास, सम्पदाको संरक्षण र पर्यटनको विकास गरी रोजगारी एवं आर्थिक समृद्धिको क्षेत्रमा अहिले पनि निरन्तर लागिरहेको बताउनुभयो । 

कार्यक्रममा पुरस्कृत पत्रकार श्रेष्ठले मध्यपुरथिमिको पहिचानलाई पूर्वनगर प्रमुख श्रेष्ठ र भक्तपुरका सञ्चारकर्मीले विश्वमाझ चिनाउन सफल भएको उल्लख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, समाजका अध्यक्ष बाबुकाजी साँछेँ, नवनिर्वाचित अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलगायतले समाजलाई सकारातमक सन्देश प्रवाह गर्ने पत्रकारिता आजको आवश्यकता रहेको औल्याउयनुभयो । 

कार्यक्रममा पत्रकार श्रेष्ठले समाजको अक्षयकोषका लागि रु १० हजार समाजका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।  

श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

यसैबीच आजै सम्पन्न समाजको पाँचौँ अधिवेशनले चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सागर गुरागाईं, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा सरिना श्रेष्ठ र सहसचिवमा पृथ्वीराम श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा क्रमशः विशेश्वर श्रेष्ठ, सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापति, विज्ञानभक्त श्रेष्ठ र रेणु श्रेष्ठ चयन हुनुभएको छ ।