गण्डकीको मुख्यमन्त्रीमा एमालेको दाबी पेस

गण्डकीको मुख्यमन्त्रीमा एमालेको दाबी पेस

गण्डकी– गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए ।

नेता अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको उनको भनाइ छ ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । तर, अधिकारीले पेस गरेको ३१ सदस्यको दाबीमा माओवादीबाट सभामुख रहेका कृष्ण धितालको पनि नाम रहेको छ ।

सभामुखले विश्वासको मत लिने समयमा बराबर भएको खण्डमा निर्णायक मत दिने बाहेक सरकार गठनका अन्य गतिविधिमा सामेल हुन नपाउने संवैधानिक व्यवस्था छ ।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए ।