पाठ्यपुस्तक समयमै पुग्दा नतिजा सुधारोन्मुख
चैनपुर (बझाङ) - केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा अहिले कक्षा छ मा पढ्छिन्, अङ्किता दमाई । विगतका वर्षमा मुस्किलले पास हुने उनी यस पटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भइन । पाठ्यपुस्तक अभाव र मेहेनत नहुँदा खस्केको उनको पढाइ यस वर्ष भने राम्रो हुँदा उनका परिवार पनि ढङ्ग छन् ।
“उसको पढ्ने रहर त थियो । तर, पढ्नलाई किताबै पाइँदैन थिए”, उनकी दिदी सिर्जनाले भन्नुभयो, “पुराना किताब आधा च्यातिसकेका हुन्थे । घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिए । बहिनीको नतिजा पनि गतिलो हुँदैन थियो ।” गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानी पनि विकास भएको र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको सिर्जनाले सुनाउनुभयो ।
सोही विद्यालयका तेजेन्द्र भण्डारी चार कक्षामा पढ्ने बेलामा एउटा किताब त फागुनमा मात्रै पुगेको थियो । “फागुनमा किताब पढेर चैतमा जाँच दिएर कसरी पास हुनु ? निकै मुस्किल हुन्थ्यो । मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए । यस पटक सबैले राम्रो अङ्क ल्याएर पास भएका छन्”, उहाँले भन्नुभयो ।
वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थीका रुपमा चिनिनुहुन्छ । गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने झन् उहाँले मेहेनत बढाउनुभयो । “विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचक्र्याइँ गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “आधा कोर्स पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो । अहिले भने सबै पढाइ हुन्छ । विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन् ।”
बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययनर कल्पना ढाँटको पनि । उहाँले भन्नुभयो, “सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ । विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहनुभएको छ । केही अपुग भए पनि हामी गुनासो गर्छौं । समस्या समाधान हुन्छ ।”
जिल्लाकै बढी विद्यार्थी हुने मध्येको केदार माविमा यस पटक नतिजा राम्रो आएको उहाँले सुनाउनुभयो । शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण भएकाले नतिजा सुधारोन्मुख भएको शिक्षा विकास तथा समन्वय इकाई बझाङको भनाइ छ । इकाईका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतिजाको तथ्याङ्क यकिन नभए पनि नतिजा फेरिएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदा वर्षभरिमा पढाइ पनि हुने ज्ञान पनि हासिल गर्ने उहाँले बताउनुभयो ।
गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हात–हातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन् ।
कतिपय विद्यालयले आवश्यकताअनुसार चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन् । खप्तड छान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ । “सोही अनुसार विद्यालयले पाठ्यपुस्तक ल्याउँछन्” उहाँले भन्नुभयो, “नतिजापछि विद्यार्थीहरू घटबढ हुन सक्छन् भनेर अहिले ७५ प्रतिशत पाठ्यपुस्तक ल्याउन विद्यालयलाई भनेका छौँ । बढी ल्याउँदा पछि खेर जान पनि सक्छन् । बरू छुटेको खण्डमा फेरि पुस्तक ल्याउन विद्यालयलाई भुक्तानी गरिदिन्छौँ ।”
जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरूले पुस्तकहरू धमाधम ढुवानी गरिरहेको शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ । इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट सबै विद्यार्थीले नयाँ पुस्तक पाउनेछन् ।
प्रतिक्रिया