जुम्लाका ९० हजार बढी नागरीक स्वास्थ्य बीमामा आबद्ध

जुम्लाका ९० हजार बढी नागरीक स्वास्थ्य बीमामा आबद्ध

जुम्ला-पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् ।

एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म पैँतालिस हजार सात सय २४ महिला र ४४ हजार छ सय ८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । उनले भने, ‘जिल्लाका ११ हजार छ सय ४८ घरपरिवार बीमामा आबद्ध छन् ।’ विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको उनको भनाइ छ ।

स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्णरुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्‍याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ।

अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । सरकारले वि.सं. २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।