बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु

बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु

भक्तपुर– सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु हुँदैछ ।

आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ ।

काठैकाठको प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।

बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परम्परा छ ।

नयाँवर्ष सुरु हुनु अघिल्लो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । वैशाख १ गते लिङ्गो ढालिन्छ । बिस्केट जात्रा वैशाख ५ समापन हुनेछ ।