नगर अस्पतालमा अब चौबीसै घण्टा चिकित्सक सेवा

नगर अस्पतालमा अब चौबीसै घण्टा चिकित्सक सेवा

तनहुँ - भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ । सङ्घीय सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटिएसँगै अब बिरामीले २४सै घण्टा  चिकित्सक सेवा पाउने निश्चित भएको हो । 

केही दिन अगाडि मेडिकल अधिकृत अपराजिता सिंह नगर अस्पतालमा हाजिर भएसँगै विशेषगरी भानु नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । नगर अस्पतालबाट बहिरङ्ग सेवा, २४सै घण्टा आकष्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ । 

पुरनडिही नगर अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । नगरवासीको स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आवको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

पाठेघर परीक्षण शिविर 

भानु नगरपालिकामा चैत २८ देखि ३० गतेसम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर आयोजना हुने भएको छ । भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाडौँको संयुक्त आयोजनामा शिविर हुन लागेको हो । 

 चैत २८ गते वडा नं १० को कालिमाटीमा रहेको नगरस्तरीय अस्पतालमा, चैत २९ गते वडा नं ३ को खहरेमा रहेको भानु स्वास्थ्य चौकीमा र चैत ३० गते पुरनडिही नगर अस्पतालमा शिविर सञ्चालन हुने  भानु नगरपालिकाले जनाएको छ ।