जुवातास खेलिरहेका १४ जना पक्राउ

जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौं–  कैलाली र काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमाजुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार १ सय ९० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, काठमाडौंकाे तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव विश्व समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।