गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुने

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध रिटको पेसीमा आज सुनुवाइ हुने भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजलाई पेसी तोकिएको हो ।

पाण्डेले हिजो दायर गरेको रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर गर्न माग गरेका छन् । मुख्यमन्त्री अधिकारीले तटस्थ व्यक्ति सभामुखलाई समेत जोडेर बहुमत पुगेको दाबी गर्नु असंवैधानिक भएको रिटमा उल्लेख छ ।

अधिकारीले जालझेल गरी असंवैधानिक तवरले दाबी पत्र पेश गरेकाले उनलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ ।

एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको अधिकारीको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सभामुखले मतदानको अवस्थामा बराबरी भएको खण्डमा बाहेक कुनै पनि प्रक्रियामा पक्ष–विपक्षमा मत जाहेर वा समर्थन गर्न पाउँदैनन् ।