बिस्केट जात्रा हेर्नेको घुइँचो

बिस्केट जात्रा हेर्नेको घुइँचो

काठमाडौं– परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइँचो लागेको छ ।

भेलुखेलस्थित ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकांक्षा पूरा हुने , शत्रुनाश हुने सहकाल आउने जनविश्वास छ ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । 

लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ ।