नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’

नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’

काठमाडौं– सर्वेक्षण शुरु भएको १३ वर्षमा नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमकाबीच सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

सडक विभागले सर्वेक्षण पश्चात सम्भाव्यताको आधारमा सन् २०१५ मा सो सुरुङमार्गको प्रस्ताव गरेको थियो । त्यसपश्चात् सरकारले निर्माण कार्य अगाडि बढाउन जापान सरकारसँग सन् २०१६ मा सहुलियतपूर्ण ऋण सम्झौता गरेको थियो ।

करिब २० अर्ब ६० करोड लागत अनुमान गरिएको सुरुङमार्गमा जापान सरकारले जाइकामार्फत् ०.१ प्रतिशत ब्याजदरमा ४० वर्षे अवधिसहित १५ अर्ब ८० करोड ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले ४ अर्ब ८० करोड आन्तरिक स्रोतबाट बेहोरेको छ ।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने निश्चित भएपछि सरकारले सन् २०१८ मा सुरुङमार्ग निर्माणको लागि टेन्डर आह्वान गरेको थियो । निर्माणका लागि जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनसँग सरकारले सन् २०१९ सेप्टेम्बर २३ मा ४२ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता गर्यो ।

२०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो सुरुङमार्गको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीको ओलीको शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङमार्ग खन्ने कार्यको सुरुवात भएको थियो ।

कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ढिलोगरी निर्माण शुरु भएको सुरुङमार्गको यसबीचमा २ पटक म्याद थपेर २५ अप्रिलसम्म पुर्याइएको थियो । सो अवधिसम्म पनि सुरुङको निर्माणकार्य पूर्ण नहुने भएपछि पुनः म्याद थप गर्ने तयारी ठेकेदार कम्पनी र सडक विभागले गरेका छन् ।

साथै निर्माण अवधिको म्याद थपसँगै आयोजनाको ४ अर्ब लागत पनि थप भएको छ ।