आज चैते दसैँ

आज चैते दसैँ

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले आज आफ्नो घर तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन् ।

प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुहरूले चैते दसैँका रुपमा मनाउने गर्छन्। चैत प्रतिपदाका दिनदेखि सुरु हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । तर यसपटक भने २०८० सालको चैते दसैँ आज परेको छ । असोजमा मनाइने दसैँलाई ‘बडादसैँ’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई ‘चैते दसैँ’ भनिन्छ ।

आज काठमाडौँको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यबासिनी, बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।