सन्दीपको पुनरावेदन निवेदनको सुनुवाइ

सन्दीपको पुनरावेदन निवेदनको सुनुवाइ

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन मुद्दाको पेशी न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरूषोत्तप्रसाद ढकालको इजलासमा सुनुवाइ अघि बढेको हो ।

यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । त्यसबेला जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।

लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।  यस्तोमा सन्दीपविरुद्धको उक्त मुद्दाको अन्तिम चरणको सुनुवाइ सकेर उच्च अदालतले आदेश दिन सक्नेछ ।