ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।
ललितपुरको महाङ्काल गाउँपालिकामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिमा मंगलबार भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक डोल्मा माया गोलेले प्रतियोगिता सम्पन्न गर्न जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको जानकारी दिइन् ।
प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सह-आयोजक छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्री कार्यालय निजी सचिवालयका सदस्य शान्ता कुमार दराईले युवाहरुमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन प्रतिष्ठानले खेलकुद लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दहाल र छोरी ज्ञानु दहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै खेलकुद लगायत कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ ।
यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १/१ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ । यो भलिबल प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायत नेतृत्वलाई ल्याउने तयारी गरिएको छ।
यस क्षेत्रका महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने आयोजकको विश्वास छ ।
प्रतिक्रिया