बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । 

डुम्रे-बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । पाँच दशमलव पाँच मिटरमा सवारीसाधन सञ्चालन हुने, एक दशमलव एक मिटर पानीको निकास र पैदलयात्री मार्ग एक मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा  रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो । 

बेँसीसहरबाट खुदीसम्म करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित तीन सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा रु १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब रु चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ । 

पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ ।