बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज सुरु गरिने भएको छ । मतगणना अघि बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनले सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै गणना सुरु गर्ने बताए ।

लामिछानेका अनुसार विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको हो ।

मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने जनाइएको छ ।

हिजो भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।