म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा उक्त आयोजाना निर्माण भएको हो ।

अन्नपूर्णको वडा नम्बर ३ काभ्रे, वडा नम्बर ४ को छेम्दी र वडा नम्बर ६ को खिवाङमा दुई करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न भएका हुन् ।

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ ।

गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख रुपैयाँ सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।