कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ

काठमाडौं– प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कतारबाट नेपाल आएका सप्तरी राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएर राख्ने दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् । नेपाल आएलगतै सिकेन्द्र यादवलाई बन्धक बनाइएर उनीहरुले यादवको परिवारसंग ४ लाख ८० हजार मागेका थिए ।

 कतारबाट एक व्यक्तिले यादवलाई सुन दिएर पठाएको र नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । घटनाको जानकारी पाउने बितिकै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हातखुट्टा बाँधेर राखेको अवस्थामा उद्धार गरिएको उनले बताए ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिभिन्न देश पठाइदिन्छु भनी नक्कली कम्पनी खडा गरि वैदेशिक रोजगारमा जान खोज्ने नेपालीलाई लाखौ ठगी गर्ने गिरोहलाई समेत पक्राउ गरि सार्वजनिक गरेको छ ।