विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक आगामी असार ४ देखि ७ सम्म काठमाडौंमा हुने भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा बैठक आयोजक समिति गठन गरिएको छ ।

आइडीए विश्व बैंकबाट सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले समितिको विषयमा जानकारी दिइसकेका छन्‌ ।

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा नै सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने उपाध्यक्ष मार्टिनले जानकारी दिएका छन्‌ ।

नेपाल सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ । आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकोमा विश्व बैंक समूहले नेपाल रोजेको हो ।